काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा मंगलबार सर्वदलीय बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक बस्न लागेको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरिएको छ। समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीको आह्वानमा बैठक बोलाइएको हो । राजतन्त्र पक्षधरको प्रदर्शनका विषयमा पनि छलफल हुने भएको छ। त्यस्तै, कोभिड १९ को महामारी र यसले पारिरहेको संकटबारे पनि छलफल हुने बताइएको छ। प्रधानमन्त्री ओलीले दलबीच एकता र राष्ट्रिय सहमति कायम गराउन सर्वदलीय बैठक बोलाउँदै आएका छन्। नेपाल र भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुरामा सीमा विवादका विषयमा छलफल गर्न वैशाख ३१ मा पनि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका थिए।








