चितवन । चितवनमा कोरोना संक्रमितको संख्या ह्वात्तै घटेको छ । मंसिर महिनामा शुक्रबारसम्म ७७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि कार्तिकमा २ हजार १५८ जना, असोजमा १ हजार ७६० र भदौमा १ हजार १४५ जनामा संक्रमण पुष्टि भएको थियो । मंसिर लागेपछि हालसम्म १४ जना संक्रमितको मृत्यु भएको छ । यसअघि भदौमा १६, असोजमा २२ र कार्तिकमा ४४ संक्रमितको मृत्यु भएको थियो । मंसिर सकिन अब जम्मा चार दिन बाँकी रहेकाले यस महिनामा संक्रमितको संख्या घट्ने प्रष्ट देखिन्छ । जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ४०५ छ भने हालसम्म ९७ संक्रमितको मृत्यु भइसकेको छ । ४०५ सक्रिय संक्रमितहरु मध्ये ३५३ जना संक्रमित होम आइसोलसनमा र ५२ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । हालसम्म ६ हजार ५७ जनामा संक्रमण पुष्टि भएको छ । ५ हजार ५५५ जना संक्रमित निको भइसकेका छन् । मृत्यु हुने संक्रमितहरुमा पुरुष ६७ जना र महिला ३० जना छन् । सबैभन्दा बढी ६१ बर्ष माथिका ६० जना संक्रमितको मृत्यु भएको छ ।








