चितवन । दसैँ बिदापछि चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले आज शुक्रबारदेखि नियमित बहिरंग (ओपीडी) सेवा सुरु गरेको छ । सरकारी अस्पतालहरूमा नियमित सेवा सञ्चालन हुनुअघि नै सिएमसीले बिरामीको उपचारलाई प्राथमिकतामा राख्दै ओपीडी सेवा सुरु गरेको हो ।
दसैँ बिदाका कारण कतिपय स्वास्थ्य संस्थामा नियमित सेवा बन्द वा सीमित हुँदा बिरामीलाई उपचार लिन कठिनाइ हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै अस्पतालले बिदाको समयमा समेत स्वास्थ्य सेवा निरन्तर सञ्चालन गरेको जनाएको छ ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रताप देवकोटाका अनुसार कात्तिक १ गते अष्टमीका दिन आधा दिन ओपीडी सेवा सञ्चालन गरिएको थियो । त्यसपछि कात्तिक २ गतेदेखि ५ गतेसम्म आकस्मिक कक्षमार्फत सबै प्रकारका उपचार सेवा उपलब्ध गराइएको थियो ।
उक्त अवधिमा आकस्मिक सेवासँगै विशेषज्ञ चिकित्सकको परामर्श, रेडियोलोजी, प्रयोगशाला तथा अन्तरङ्ग सेवा पनि नियमित रूपमा सञ्चालन गरिएको देवकोटाले जानकारी दिनुभयो ।
“दसैँ बिदाको समयमा बिरामीलाई उपचारका लागि असहज नहोस् भनेर आकस्मिक कक्षबाट विशेषज्ञ चिकित्सकसहित सेवा दिने व्यवस्था गरेका थियौँ,” उहाँले भन्नुभयो, “बिदाको समयमा पनि बिरामीलाई सकेसम्म सहज र प्रभावकारी सेवा उपलब्ध गराउने हाम्रो उद्देश्य हो ।”
नियमित ओपीडी सेवा पुनः सुरु भएसँगै विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुपर्ने, स्वास्थ्य परीक्षण गराउनुपर्ने तथा नियमित उपचारमा रहेका बिरामीलाई सहज हुने अस्पतालले जनाएको छ ।
ओपीडी सेवासँगै प्रयोगशाला, रेडियोलोजीलगायत अन्य स्वास्थ्य सेवासमेत सञ्चालनमा रहेकाले बिरामीले आफ्नो आवश्यकताअनुसार उपचार तथा परीक्षण सेवा लिन सक्ने देवकोटाले बताउनुभयो ।
बिदाको समयमा समेत स्वास्थ्य सेवालाई निरन्तरता दिँदा बिरामीले समयमै उपचार पाउने र सम्भावित स्वास्थ्य समस्याको व्यवस्थापनमा सहजता हुने अस्पतालको विश्वास छ । नियमित सेवा सुरु भएसँगै अस्पतालमा उपचारका लागि आउने बिरामीले विशेषज्ञ परामर्शदेखि आवश्यक स्वास्थ्य परीक्षणसम्मका सेवा प्राप्त गर्न सक्नेछन् ।








