भरतपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बरिष्ठ नेता विक्रम पाण्डेले राप्रपाले दुई तिहाई बहुमत पाएमा देश रामराज्य हुने दावी गर्नुभएको छ । राप्रपा चितवनले पार्टी कार्यालयमा आयोजना गरेको ऐतिहासिक झण्डोत्तलन, चुनाव चिन्ह हलो अनावरण तथा बधाई तथा सम्मान कार्यक्रममा बोल्दै पूर्वमन्त्री पाण्डेले वर्तमान कम्युनिष्ट सरकारप्रति जनतामा वितृष्णा छाएको दाबी गर्नुभयो ।
“देश र जनताको काम नभएको चिन्ता सत्तारुढ दललाई छैन, मेरो पालो कहिले आउँछ भनेर नेकपाभित्रै झगडा चलेको सबैले बुझेका छन्”, उहाँले भन्नुभयो, “अब देश चलाउने जिम्मा हामीले लिनुपर्छ, त्यसका लागि जनताले साथ दिनेछन् ।” उहाँले कांग्रेस र कम्युनिष्टका सरकारबाट जनताले चाहेको विकास नपाएको दाबी गर्दै अब राप्रपानै रोजाईमा पर्ने दाबी गर्नुभयो । “सबै धर्म, संस्कृति अटाउने हिन्दुराज्य फिर्ता ल्याउन र सबैको राष्ट्रध्यक्ष बनाउन राप्रपालाई दुई तिहाई मत चाहिन्छ”, उहाँले भन्नुभयो, “जनताले जिताएमा राप्रपाले देशलाई रामराज्य बनाउँछ ।
”अनेक धर्म, संस्कृति मिलेको विश्वकै सुन्दर देशलाई अब सहि गन्तव्यमा लैजान जनता जाग्नुपर्ने बताउनुभयो । विदेशीको अगाडी झुक्ने, लाचार बन्ने शासन हटाउँदै स्वाभिमान राष्ट्र बनाउन जनताले विकल्प खोजिरहेको बताउनुभयो । उहाँले जनताको घरदैलोमा पुगेर जनचाहनालाई नजिकबाट नियाल्दै समस्या समाधानमा भूमिका खेल्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा राप्रपाका उच्चस्तरीय कार्यसम्पादन समितिका सदस्य ऋषिबाबु परियार, सचिवालय सदस्य रामशरण पाठक, राप्रपाका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सांसद रिना गुरुङ, केन्द्रीय सदस्य रामहरी कँडेल, पवित्रा जोशी, मीना न्यौपाने, विष्णु खरेल, दिलिप पाण्डे, विजेन्द्र पाठक, अमर केसी, शिवकुमारी सुवेदी, सुरज न्यौपाने लगायतका सहभागि थिए । कार्यक्रम राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकालको अध्यक्षतामा भएको हो ।








