काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले असंवैधानिक तरिकाले प्रतिनिधि सभा भंग गरेकोले पुनर्स्थापना हुनुपर्ने बताएका छन्। नेपालगञ्जमा आज कांग्रेसले गरेको विरोध प्रदर्शनपछि सभालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संवैधानिक कू विरुद्ध अदालतबाट न्याय मिल्ने विश्वास पनि गरेका छन्। ‘अदालतप्रति कांग्रेसको भरोसा छ। अदालतको स्वतन्त्रताका लागि हामी लडेको हो,’ थापाले भने, ‘अदालतले न्याय दिन सक्नुपर्छ अनि अदालत हुनुको अर्थ रहन्छ। अदालतले न्याय दियोस् श्रीमान्।’ साथै, अदालतबाट न्याय पाइएन भने जनताका बीचमा जाने पनि उनले बताए । राष्ट्रपति र प्रधानमन्त्रीले संविधानमाथि ठूलो प्रहार गरेको भन्दै कांग्रेस टुलुटुलु हेरेर बस्न नसक्ने भएकोले सडकबाट प्रतिरोध गरिएको थापाले बताए।








