हेटौंडा । गुरुङ समुदायले आज आफ्नो महत्वपूर्ण पर्व ल्होछार मनाउँदै छन । उनीहरुले पुरानो वर्षलाई बिदा गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होछार’ पर्व मनाउन लागेका हुन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘छार’ को अर्थ फेरिने भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होछार’ भनिएको हो । ‘तमु ल्होछार’ पर्व सूर्यको किरणसँग सम्बन्धित मानिन्छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको मान्यता छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको गुरुङ समुदायका अगुवाहरु बताउँछन् ।








