काठमाडौँ । नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले सत्तारूढ नेकपा फुटको असर नेकपालाई मात्रै नभएर सिंगो देशलाई पर्ने बताएका छन् । नेकपालाई फुटबाट बचाउन आफूहरुले धेरै पहल र जोड दिएको भए पनि सफल नभएको उनको भनाई छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महामन्त्री सिंहले नेकपा फुटको पछाडि राजनीतिक वा संवैधानिक कारण नभएर नेताहरुबीचको अन्तरकलह नै मुख्य कारण रहेको दाबी गरे । उनले भने,‘नेकपाको यो फुट अराजनीतिक प्रकारको छ, यसले देशलाई दीर्घकालिन असर पारेको छ, यसको पहिलो परीणाम संसद विघटन भयो । कोरोनाले मुलुकलाई दीर्घकालिन असर पारेको बेला र राष्ट्रियतामाथि गम्भीर संकट आएको बेला, नेकपा फुट्नु दुःखद् छ ।’ उनले पछिल्लो समय राजावादीहरु पनि सलबलाएको र उनीहरुको चलखेल शुरु भएकाले गणतन्त्ररधर्मनिरपेक्षता र संघीयता पक्षधर शक्तिहरुबीच बलियो एकता आवश्यक रहेको बताए। उनले नेकपा फूटको प्रमुख कारण वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै भएको पनि दाबी गरे। उनले ओलीले विधि र प्रक्रियालाई आत्मसात् नगरेको गुनासो पोखे। उनले पार्टीभित्र विधि र प्रक्रिया हुने र बहुमत र अल्पमत पनि ओलीले नअपनाएको आरोप लगाए। नेपालमा धेरै अन्तरकलह र राजनीतिक अस्थिरता सिर्जना गर्न विदेशी शक्तिहरु उद्धत रहेको पनि उनको भनाइ छ । ‘जसरी भारतीय गुप्तचर संस्था रअका प्रमुख गोयलले नेपालमा रहस्यमयी भ्रमण गरे, यो आपत्तिजनक छ । भारत नेपाललाई हिन्दूराष्ट्र बनाउन चाहन्छ । राजसंस्था ल्याउच चाहन्छ,’ नेता सिंहले भने ।








