काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा विघटनको विषय खारेजयोग्य रहेको बताएका छन् । प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतको आदेशअनुसार आइतबार लिखित जवाफ प्रस्तुत गर्दै सभामुख सापकोटाले आफू त्यसको विपक्षमा रहेको बताएका हुन् ।
प्रतिनिधिसभा विघटन हुन सक्ने कुनै आधार नभएको दाबी गर्दै उनले उक्त कदमलाई सार्वभौम जनताको प्रतिनिधिमुलक संस्था संसद उपरको हस्तक्षेपको संज्ञा दिएका छन् । उनले संघीय संसदको सातौं अधिवेशनको तयारी भइरहेको अवस्थामा प्रतिनिधिसभा विघटन हुँदा आफू मर्माहत भएको उल्लेख गरेका छन् ।
गत पुस ५ गते मन्त्रिपरिषद्ले प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि प्रतिनिधिसभा विघटन भएको थियो । प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भन्दै रिट दायर भएपछि सर्वोच्च अदालतको संवैधानिक इजनलासले पुस १० गते लिखित जवाफ मागेको थियो ।








