काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा विघटनपछि विभाजनको नजिक पुगेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता विवादमा केपी शर्मा ओली पक्ष र पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षलाई छुट्टाछुट्टै पत्र लेखेको छ।नेकपामा ओली र दाहाल–नेपाल पक्षबीच देखिएको आधिकारिकता विवाद निरूपणका लागि आयोगले छुट्टाछुट्टै पत्र काटेको हो। आयोगले लेखेको पत्रमा ओली पक्ष र दाहाल–नेपाल पक्षबाट दलको लेटरप्याड र छाप भएको भिन्नाभिन्नै पत्र प्राप्त भएकाले एउटै दलका दुई पक्षबीच दलका पदाधिकारी, केन्द्रीय समिति, विधानलगायत विषयमा आपसमा नमिल्ने विवरण प्राप्त भएको र राजनीतिक दलसम्बन्धी ऐनअनुसार आयोगबाट त्यस्तो विवाद निरूपण गर्ने व्यवस्था रहेको उल्लेख छ।ऐनमा दलको नाम, छाप, झन्डा र चिह्न दाबी गर्ने दलले र पदाधिकारी, केन्द्रीय समिति र केन्द्रीय समितिको आधिकारिकतासम्बन्धी विवाद भए आधिकारिकता दाबी गर्ने दलको केन्द्रीय समितिको ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित विवाद प्रारम्भ भएको मितिले ३० दिनभित्र आयोगसमक्ष आधार, प्रमाणसहित दाबी पेस गर्नुपर्ने व्यवस्था भएकाले सोही अनुसार जवाफ उपलब्ध गराई सहयोग गर्न दुवै पक्षलाई पत्राचार गरिएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले विवाद निरूपण प्रक्रिया सुरु भएकाले दुवै पक्षलाई कानुनअनुसार पत्राचार गरिएको जानकारी दिए।‘आयोगमा पेस गरिएका पत्रका आधारमा दुवै पक्षलाई पत्र लेखिएको छ,’ उनले भने।दाहाल–नेपाल पक्ष पुस १० गते आफू आधिकारिक भएको दाबी गर्दै आयोग पुगेपछि विवाद निरूपणको औपचारिक प्रक्रिया सुरु भएको थियो।त्यसअघि ओली पक्षले केन्द्रीय समिति हेरफेर र विधान संशोधनको निर्णय आयोगमा पठाएको थियो।जसअनुसार आयोगले दाबी गर्ने दाहाल–नेपाल पक्षलाई प्रक्रिया प्रारम्भ गर्ने सम्बन्धमा सात दिनभित्र जवाफ उपलब्ध गराई सहयोग गर्न भनेको छ।ओली पक्षलाई आधार प्रमाणसहित दाबी पेस गर्नुपर्ने कानुनी व्यवस्था रहेकाले सोहीअनुसार जानकारी गराइएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।








