चितवन । गृहमन्त्री तथा नेकपा केपी ओली समुहका नेता रामबहादुर थापा बादललाई आफुसँग चुनाव लड्न प्रदेश सभा सदस्य घनश्याम दहालले चुनौती दिएका छन । नेकपा बागमती प्रदेशको सचिवालय कमिटि सदस्य समेत रहेका दहालले गृहमन्त्रीसमेत रहेका बादललाई आफ्नो क्षेत्रमा आफुसँग चुनाव लड्न आउन आग्रह गरे ।
नेकपा चितवनको राप्ती नगर कमिटिले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आफ्नो चुनाव क्षेत्र कम्युनिष्टहरुको कमजोर क्षेत्र रहेको भएपनि आफुले चुनाव जितेको उल्लेख गर्दै गृहमन्त्री थापालाई चुनौती दिए । ‘चितवनका ६ वटा प्रदेश निर्वाचन क्षेत्रमध्य सबैभन्दा कमजोर क्षेत्र म लडेको क्षेत्र हो, त्यहा म नेपाली काँग्रेसका जिल्ला सभापतिसँग चुनाव लडेको थिएँ, म कमरेड रामबहादुर थापा बादललाई त्यही क्षेत्रमा आएर मसँग चुनाव लड्न चुनौती दिन्छु’ : उनले भने : ‘आउनुस म कार्यकर्ता तपाई नेता हो, अरुसँग गएर चुनाव लड्नुपर्दैन आएर मसँग लडे हुन्छ ।’ उनले बादल अग्रगमनतर्फ नभई प्रतिगमनको पछि लागेको बताए ।
उनले बादलले चितवनमा आएर नेकपा कार्यकर्ताहरुमाझ भ्रम छर्ने काम गरेको आरोप लगाए । दहालले निर्वाचन जितेको क्षेत्रमा गृहमन्त्री थापाको पनि निर्वाचन क्षेत्र हो ।








