काठमाडौँ । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि देखिएको आधिकारिकता विवादलाई छिट्टै टुंगो लगाउने भएको छ । आयोगले आफूले पठाएको पत्रको औचित्यमाथि नेकपा दाहाल–नेपाल समूहले प्रश्न उठाएपछि विवाद निरूपणका लागि अब आफ्नो प्रक्रिया सुरु गर्ने जनाएको छ ।
‘हामीले कानुनअनुसार प्रक्रिया पुर्याएर पार्टीको आधिकारिकता दाबी गर्न आउनु भनेर पत्र पठाएका थियौं,’ आयोगका एक अधिकारीले बुधबार भने, ‘तर उहाँ (नेकपा दाहाल–नेपाल समूह) हरूले राजनीतिक दलको आधिकारिकतासम्बन्धी विवाद निरूपणका लागि भएको कानुनी व्यवस्थासमेत ख्याल नगरी पत्र नै असान्दर्भिक भएको भन्नुभएको छ, अब आयोगले आफ्नो प्रक्रिया अघि बढाउँछ ।’ आयोग स्रोतका अनुसार सम्भवतः बिहीबारदेखि आयोगले यससम्बन्धी प्रक्रिया अघि बढाउनेछ ।
दाहाल–नेपाल समूहले मंगलबार आयोगले पठाएको पत्र कानुनअनुसार नमिलेको भन्दै जबाफ पठाएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि फुटको संघारमा पुगेको नेकपाको दाहाल–नेपाल समूह पुस १० गते आफू नै आधिकारिक भएको दाबी गर्दै आयोग पुगेको थियो । तर उक्त समूहले आयोगमा पेस गरेको निवेदन प्रक्रिया नपुगेको र आवश्यक कागजात पनि नभएको भन्दै आयोगले केही दिनअघि सात दिनभित्र प्रमाणसहित जबाफ उपलब्ध गराउन भनेको थियो ।
आयोगले ओली पक्षलाई भने त्यसको जानकारी मात्र गराएको थियो । आयोगले लेखेको पत्रमा ओली पक्ष र दाहाल–नेपाल पक्षबाट दलको लेटरप्याड र छाप भएको भिन्नाभिन्नै पत्र प्राप्त भएकाले एउटै दलका दुई पक्षबीच दलका पदाधिकारी, केन्द्रीय समिति, विधानलगायत विषयमा आपसमा नमिल्ने विवरण प्राप्त भएको र राजनीतिक दलसम्बन्धी ऐनअनुसार आयोगबाट त्यस्तो विवाद निरूपण गर्ने व्यवस्था रहेको भनिएको थियो । यो समाचार आजको नागरिक दैनिकमा छ ।








