हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले २०६२/०६३ पछि अवलम्बन गरिएको त्रुटिपूर्ण मार्गचित्रका कारण मुलुक संकटको दलदलमा भासिएको बताएका छन्। शुक्रबार मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले कांग्रेस र कम्युनिस्टले लिएको गलत बाटोले मुलुकलाई अधोगतितर्फ लगेकाले अब राप्रपालाई विकल्पको रुपमा स्थापित गर्नुपर्ने आवश्यकता रहेको औँल्याए।
गौरवशाली इतिहासलाई नष्ट गरेर मुलुक समृद्ध बन्न नसक्ने ठोकुवा गर्दै थापाले धर्म, संस्कृति र पहिचान रक्षाको निमित्त नयाँ पुस्ता अग्रसर हुनुपर्ने बताए। राप्रपा राजासहितको प्रजातन्त्रको पक्षमा रहेको भन्दै उनले अभिभावकको भूमिकामा मात्र राजसंस्था रहने बताए।
फरक विचारसहितको राष्ट्रवादी शक्ति निर्माणमा राप्रपा लागिरहेको चर्चा गर्दै थापाले मुलुक बनाउन र बचाउन राप्रपा बलियो हुनैपर्ने विचार व्यक्त गरे।








