काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको कारण मुलुक गम्भीर संवैधानिक संकटमा परेको बताएका छन् ।
प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली कदम जनताको अधिकारमाथिको हमला भएको बताए । ओलीले प्रतिनिधिसभा नभई संविधान नै विघटन गरिएको प्रचण्डको भनाई छ ।
पहिलेको संविधानभन्दा ०७२ को संविधान फरक रहेको बताउँदै प्रचण्डले भने, ‘पहिलेका संविधान राजा–महाराजाको अधिकार भन्दै थोपरिएका थिए । तर, नयाँ (०७२ को संविधान)मा जनताको तर्फबाट जनतालाई अधिकार दिएर लागु गरिएको थियो । आँखा अगाडि प्रतिक्रियावादी एजेन्टले संविधान विघटन गरिदिए । यो लोकतन्त्रमाथि हमला भएको छ । यो जनताको अधिकारमाथिको हमला हो ।’
प्रचण्डले आफूहरु सर्वोच्च अदालतको निर्णयको पर्खाइमा रहेको बताए ।
प्रचण्डले केपी ओलीले आफुमाथि अत्याचार गरेको भन्दै जनतालाई न्याय दिन भनेका छन् । प्रचण्डले भने–‘आदरणीय जनसमुदाय मलाई न्याय चाहियो । केपी ओलीले ममाथि अत्याचार गर्न खोजे । म न्याय चाहान्छु । जसले त्याग र बलिदानको इतिहास बनायो त्यसलाई अपमान गर्ने र हुर्मत लिने काम भैरहेको छ ।’
प्रचण्डले अझ अघि बढ्दै भने– ‘म निसन्तान, नपुंसक भइन के यो मेरो दोष हो ? केपी ओलीका छोराछोरी छैनन तर उनले कलंकको टिका लाए, छोरोछोरी छैनन् भन्दैमा धर्म सन्तानलाई लुटाउने केपी ओली ठिक हुन् त ?’








