चितवन । जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार भरतपुर महानगरमा कुष्ठरोगीका बिरामी अन्य ठाउँमा भन्दा उच्च देखेको पाईयो । आज चितवनमा ६८ औ विश्व कुष्ठरोग दिवसको सन्दर्भमा द लेप्रोसी मिसन नेपालद्वारा आयोजित कुष्ठरोग तथा हात्तीपाईले अन्तरक्रिया कार्यक्रममा उहाँले जिल्लामा कुष्ठरोगी संक्रमितको संख्या ५६ जना थपिएको बताउनुभयो ।
उहाँले चितवनमा १सय १६ जना कुष्ठरोगीले नियमित रुपमा औषधि खाईरहेको जानकारी दिनुभयो । प्रमुख तिवारीले प्रस्तुत गर्नुभएको तथ्यांक अनुसार २०७५÷७६ सालमा भरतपुरमा २९, रत्ननगरमा १०, खैरहनीमा ९, राप्तीमा ५, माडीमा ५, कालिका र इच्छाकामनामा १÷१ जना कुष्ठरोगका बिरामी रहेका छन् ।
उहाँले लगातार तीन वर्षसम्म प्रति दस हजारमा एक जनाभन्दा कम बिरामी देखा परेमा कुष्ठरोग निवारण भएको मानिने बताउनुभयो। त्यस्तै द लिर्पोसी मिशन नेपालकी जिल्ला संयोजक शुसिला श्रीस मगरले कुष्ठरोग मानिसबाट मात्र सर्ने गरेको बताउनुभयो । उहाँले कुष्ठरोग दुई प्रकारको हुने गरेको बताउनुभयो ।
उहाँले सर्ने खालको कुष्ठरोग भएका बिरामीले १२ महिना र नसर्ने खालको कुष्ठरोग भएका बिरामीले ६ महिना औषधि खानु पर्ने बताउनुभयो । उहाँले हात्तीपाईले रोगको बारेमा समेत जानकारी दिनुभयो ।








