हेटौंडा । मकवानपुरको थाहा नगरपालिका सिमभञ्ज्याङमा सामान्य हिमपात भएको छ । शनिबार दिउँसो ३ बजेबाट थाहा नगरपालिकाको सिमभञ्ज्याङ र भीमफेदी गाउँपालिकाको अघोरसहितका क्षेत्रमा हिमपात भएको हो ।
हिमपातका कारण सवारी आवतजावतमा कठिनाई भईरहेको छ ।‘अहिले सिमञ्ज्याङ क्षेत्रमा हिउँ पारेको छ ।’–हेटौंडाबाट पालुङ गईरहेका शिक्षक यादवराज बरालले भने । हिउँ परेपछि त्रिभुवन राजपथ भएर आवतजावत गरिरहेका सवारी साधन जाममा परेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।
सामान्य हिमपात भएपछि स्थानीयको जनजीवन सामान्य प्रभावित भएको छ।‘पालुङ शिखरकोटका खेतका गह्राहरुमा विहानैदेखि हिउँ देखिएको छ ।’–शिखरकोटमा रहेका सुदिप ढकालले बताए । हिमपात भएपछि पर्यटक आउने भएकाले व्यवसायीहरु समेत उत्साही भएका छन् ।मौसम चिसो बन्दै गएको भन्दै एक स्थानीयले बेलुका बाक्लो हिउँ पर्ने सम्भावना रहेको बताए ।








