काठमाडौँ । बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि बीभत्स हत्या भएको छ। घटनामा संलग्न हुनेको अहिलेसम्म पहिचान हुन सकेको छैन। बुधबार विद्यालयको पढाइ सकेर घर फर्कने क्रममा बीच बाटाबाटै जंगलमा लगेर उनको बलात्कारपछि हत्या भएको जनाइएको छ।
शनिबार जिल्ला अस्पताल बैतडीमा उनको शव पोस्टमार्टम गरिएको छ। पोस्टमार्टम गर्दा ती किशोरीको बलात्कारपछि हत्या गरिएको पाइएको अस्पतालको विशेष स्रोतले जनाएको छ। ‘बलात्कारपछि हत्या गरेको देखिन्छ,’ स्रोतले भन्यो, ‘एकजनाले बलात्कार गरेर हत्या गरेको हो या सामूहिक बलात्कार भएको हो भन्नेचाहिँ खुल्न सकेको छैन।’ बुधबार २ बजे विद्यालयको पढाइ सकेर घर फर्कने बेला बाटोबाट करिब ५० मिटर तल लवलेक सामुदायिक वनको जंगलमा पुर्याई भागरथीको बलात्कारपछि हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
‘प्रारम्भिक अनुसन्धानअनुसार बलात्कार गरी हत्या भएको देखिएको छ,’ नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदीले भने, ‘हामी अनुसन्धान गरिरहेका छौं, विस्तृत कुरा पछि खुल्नेछ।’ कक्षा १२ मा अध्ययनरत भागरथी सधैंझैं बुधबार बिहान आफू पढ्ने सनातन धर्म सिरकोट माध्यमिक विद्यालय गइन्।
पुरै पाँच विषय पढी विद्यालयबाट घर फर्किन्। विद्यालयनजिकैको खोचलेक बजारमा उनलाई २ बजे स्थानीयले देखेका थिए। बुधबार साँझसम्म उनी घर फर्किनन्। आफन्तले उनलाई खोज्न थाले। ‘उनका साथीहरूलाई सोधेर सबैतिर खोजी गर्यौं,’ उनका काका शंकर भट्टले भने, ‘कतै पनि पत्ता नलागेपछि दोस्रो दिन बिहीबार स्थानीय खोचलेक प्रहरी चौकीमा खोजी गरिदिन भन्दै निवेदन दर्ता गरायौं।’ त्यतबेलासम्म आफूहरूलाई कुनै साथीको घर गएको वा केटासँग भागेको होला भन्ने अनुमान गरेको उनले बताए।
बिहीबार साँझ विद्यालयबाट घर फर्कने बेला चडेपानीका तीन विद्यार्थीले बाटोभन्दा तल मृत अवस्थामा भागरथीलाई देखेका थिए। तल्लो शरीर निर्वस्त्र रहेको, यौनांगमा रगत बगेको, हात काटिएको, शरीरभरि नीलडाम भएको, घाँटीमा चोट लागेको अवस्थामा शव फेला परेको काका भट्टले बताए।
बिहीबार साँझ नै स्थानीय प्रहरी र आफन्त घटनास्थल पुगे पनि शुक्रबार शव घटनास्थलबाट उठाइएको थियो। अढाइ वर्षअघि कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको झझल्को दिने घटना भएकाले त्यसलाई गम्भीरतापूर्वक लिएर घटनास्थलको अध्ययन गरेको पाइएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।








