काठमाडौं । गत असोज २ गते निकै हर्षाेल्लासका साथ भारतबाट दुई सेट डेमो ट्रेन ल्याएर थन्काइएको कुर्था–जयनगर रेल सञ्चालनका लागि भारतबाट कर्मचारीहरु ल्याइने भएको छ । रेल संचालनको लागि २६ जना प्राविधिक कर्मचारी भारतबाट केही दिनमा आउने र त्यसपछि प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेपछि नियमितरुपमा संचालन गर्ने तयारी भैरहेको नेपाल रेल्वे कम्पनी लिमिटेडले जानकारी दिएको छ ।
भारतीय कोनकोन कम्पनीले निर्माण गरेको रेल संचालनको लागि कम्पनीबाटै रेल चालक, स्टेशन मास्टर, पावर म्यानेजर, सिनियर ट्राफिक म्यानेजर सहितका कर्मचारी ल्याउन लागिएको हो । रेल कहिले उद्घाटन हुन्छ भन्ने यकिन नभए पनि विभागले दुवै देशका प्रधानमन्त्रीको समय मिलेपछि ‘केही दिनभित्रै संचालन हुने’ दावि गरेको छ ।
भाडादर र टिकटका विषयमा यसअघि नै टुङ्गो लागि सकेको छ । विभागका अनुसार सामान्य सिटमा ३५ किमी रेलमार्ग यात्रा गर्न रु ७५ भाडादर कायम गरिएको छ भने डिलक्सको भाडा भने ३ सय रुपैंयाको हाराहारीमा तोक्ने तयारी गरिएको छ । उक्त रेलमा एक पटकमा एक हजार २०० देखि एक हजार ३०० जनासम्म यात्रु बसेर र उभिएर गरी यात्रा गर्न सक्ने रेल विभागले जनाएको छ । यात्रुबाहक रेल भएकाले यात्रुको झोला र सामान्य सामान मात्रै राख्न सकिनेछ ।








