काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०७७ को मस्यौदा तयार गरेको छ । आयोगले मस्यौदाका बारेमा आज आइतबार छलफलका लागि बोलाएको छ । आयोगले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सबै पार्टीका अध्यक्ष, सभापति र संयोजकलाई बोलाएको छ ।
आयोगले नेपाली कांग्रेस, समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, माले, नेपाल मजदुर किसान पार्टीलगायतलाई बोलाएको छ । मस्यौदाको विषयमा छलफल भएपछि मात्र आयोगले आचारसंहिता जारी गर्ने तयारी गरेको छ । आचार संहितामा उम्मेदवार वा राजनीतिक दलको सदस्यको निजी जीवनलाई असर पर्ने गरी आलोचना गर्न नपाइले उल्लेख छ ।
आयोगले तयार गरेको आचारसंहितासम्बन्धी मस्यौदामा सार्वजनिक निकाय वा कुनै परियोजनाको स्रोतसाधन र सम्पत्तिमा कसैको पक्ष र विपक्षमा हुने गरी प्रयोग गर्न र गराउन नपाइने, मतदातालाई नगद वा जिन्सी वितरण गर्न, भोजभतेर गर्न वा मादक पदार्थ सेवन वा वितरण गर्न वा गराउन नहुने, कुनै मठ, मन्दिर, गुम्बा मस्जिद, चर्च वा कुनै धार्मिकस्थल, सार्वजनिक उद्यान प्रयोग गरी निर्वाचनसम्बन्धी प्रचारप्रसार गर्न वा गराउन नहुने उल्लेख छ ।
त्यस्तै उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अंकित ज्याकेट, कमिज, टिसर्ट, टोपी गम्छा वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो झोला, ट्याटु जस्ता सांकेतिक सामग्री उत्पादन गर्न, प्रयोग गर्न बिक्रीवितरण वा प्रदर्शन गर्न गराउन नहुने, घरजग्ग्गाधनीको स्वीकृति नलिई निजी घरजग्गामा राजनीतिक गतिविधि वा प्रचारप्रसार गर्न वा गराउन नहुने, सामाजिक सञ्जालमा गलत भ्रामक द्वेषपँर्ण सँचना प्रवाह गर्न गराउन नहुने, उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतपरिणामको घोषणा नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामको सम्बन्धमा मत सर्वेक्षण वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुनेलगायतका विषय उल्लेख छ । यो समाचार नेपाल समाचार पत्रमा छ ।








