हेटौंडा । मकवानपुरमा आजको दिन सम्म २ हजार ८ सय ३९ जनाले कोरोना भाइरस विरुद्धको खोप लिएका छन् । माघ १४ बाट सुरु भएको कोरोना भाइरस विरुद्धको खोप लागाउने अभियानमा आजको दिनसम्म मकवानपुरमा २ हजार ८३९ जनाले खोप लिएको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
कार्यलय अनुसार मकवानपुरमा पहिलो चरणमा २ हजार १६६ जनाले खोप लिएका थिए । पहिलो चरणमा खोप लिनेहरुमा प्रत्यक्ष उपचार सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, एम्बुलेन्स तथा शव बाहनका चालक र सहचालक,फोहोरमैला व्यवस्थापनमा खटिने फोहोर संकलक र चालक,खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, स्वयं सेवक, शव व्यवस्थापनमा खटिएकाहरू, स्वास्थ्य स्वयंसेवकहरु रहेको जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
यसैगरि मकवानपुरमा आईतबारबाट सुरु भएको दोस्रो चरणको खापमा तीन दिनमा ६ सय ७३ जनाले कोरोना विरुद्धको खोप लिएका छन् । दोस्रो चरणको खोपमा पहिलो दिन आईतबार ७१ जना,सोमबार २ सय २२ जना र तेस्रो दिन ३ सय ८० जनाले खोप लिएको जिल्ला जनस्वस्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
दोस्रो चरणमा खोप लिनेहरुमा पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मीलगायत,नेपाल प्रहरी,संचारकर्मी,स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरु, बैंकमा कार्यरत कर्मचारीहरु लगाएत रहेका छन् ।








