काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेर लोकतन्त्रको रक्षा गरेको बताएका छन् । उपचारको लागि भारतको नयाँ दिल्लीमा रहेका भट्टराईले सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भएको प्रतिक्रिया दिएका हुन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘कस्तो सुखद संयोग ! अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खंदैगर्दा मनचाहिँ देशभित्र सर्वोच्चको फैसलातिर थियो । हिन्दू मिथकको भष्मासुरलाई बिष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो !’









