फाइल फोटो
दाङ । दाङमा एक युवकको कुटपिट गरी हत्या भएको छ । प्रहरीले घोराही उपमहानगरपालिका-१६ बस्ने २१ वर्षीय राजन चौधरीको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका-१० जलौरा बस्ने २३ वर्षीय उमेश चौधरीसहित ६ जनालाई शनिबार राति पक्राउ गरेको छ ।
सोही उपमहानगरपालिका-१० जलौरा नजिक बिवाहको भोजमा गएको अवस्थामा राजनलाई उमेशसहित ६ जनाले कुटपिट गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले कुटपटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।
कुटपिटबाट गम्भीर घाइते भएका राजनको स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही हुँदै चौराह हस्पिटल मेडिकल कलेज बुटवलमा थप उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।








