काठमाडौँ । सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिच औपचारिक वार्ता भैरहेकाे छ । केहीसमय अघिबाट प्रधानमन्त्री निवास बालुवाटारमा सरकार र विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीबीच वार्ता जारी रहेकाे स्रोतले जनाएको छ ।
वार्तामा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई रहेका छन् भने विप्लव समूहका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा उदयबहादुर चलाउने ‘दीपक’ रहेका छन् । दुवै वार्ता टोली मंगलबार गठन भएका थिए ।
विप्लव नेतृत्वको वार्ता टोली मंगलवार साँझ काठमाडौं आएको थियो । त्यसपछि सुरक्षा व्यवस्था कडा बनाइएकाे छ । हाल जारी वार्तामा विप्लव समूहका मागमा छलफल भइरहेको बताइएको । विप्लव समूहले प्रतिबन्ध फुकुवा हुनुपर्ने, पक्राउ परका आफ्ना नेता कार्यकर्ता रिहा हुनुपर्ने लगायतका माग अघि सारेको छ ।
सरकारले हिंसात्मक तथा आतंककारी गतिविधि गरेको भनी २०७५ फागुन २८ गते विप्लव समूहलाई प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धपछि विप्लव समूहका झण्डै दुई हजार बढी नेता कार्यकर्ता पक्राउ परेका छन् ।








