काठमाडौँ । मोरङको उर्लाबारी नगरपालिका-५ का ३१ वर्षीय प्रवीण बाँस्तोला मृत्यु प्रकरणमा संलग्न भएको आरोपमा थप २ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार पक्राउ पर्नेमा उर्लाबारी–६ का ३२ वर्षीय राजेश रणपहेली र झापाको गौरादह नगरपलिक–९ का ३१ वर्षीय दीपेश पौडेल छन्। उनीहरलाई शुक्रबार साँझ भैरहवाबाट पक्राउ गरिएको हो ।
गत पुस ५ मा डेरा लिएर बसेका साथीको कोठामा सुतेको बेला प्रवीणको शङ्कास्पद अवस्थामा शव फेला परेको थियो । त्यसपछि प्रवीणको हत्या भएको भन्दै ६ जनाविरूद्ध मुद्दा दायर गरिएको थियो । यसअघि र्लाबारी-९ का ३४ वर्षीय कुमार राईलाई तीन लाख धरौटी र उर्लाबारी नगरपालिका-६ का ६० वर्षीय रमेश गिरीलाई एक लाख रुपैयाँ धरौटी लिएर जिल्ला अदालत मोरङले छाड्न आदेश दिएको थियो ।
रतुवामाई-१० का २९ वर्षीय मेहरमान दर्जीलाई भने पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । यस्तै, १९ वर्षीय सुदीप परियारलाई पनि पक्राउ गरेर अनुसन्धान गरिएको छ । यस्तै, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेल जिल्ला प्रहरी कार्यालय तानिएका छन् । उनको ठाउँमा जिल्लाबाट कुन्दन देव पठाइएको छ ।








