काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । आइतबार बिहान त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा रहेको खोप केन्द्रमा पुगेर प्रधानमन्त्री ओलीले कोरोना खोप लगाएका हुन् ।
प्रधानमन्त्री ओलीले कोरोना खोप लगाएसँगै दोस्रो चरणको खोप अभियान शुभारम्भ भएको छ । दोस्रो चरणको अभियानअन्तर्गत आजदेखि देशभर ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने छ । यस्तै हिमाली भेगका १५ जिल्लामा भने ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिनेछ ।
दोस्रो चरणमा करिब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने तयारी छ । खोप अभियान छ हजार खोप केन्द्रबाट सञ्चालन हुनेछ । यसअघि गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरिएको थियो । पहिलो चरणमा चार लाख २९ हजारलाई खोप प्रदान गरिएको थियो ।








