हेटौंडा । हेटौंडा–५ पुष्पलाल पार्क अगाडि रहेको तत्कालिन नेकपा मकवानपुरको पार्टी कार्यालयमा ओली समूह प्रवेश गरेको छ । सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएपछि नेकपा एमाले व्यतिएको भन्दै ओली समूहले पुरानो एमालेको पार्टी कार्यालय प्रवेश गरेको हो ।
नेकपा ओली र दाहाल–प्रचण्ड समूहमा विभाजित भएपछि तालाबन्दी भएको कार्यालयको ताला फुटाएर ओली समूहले नेकपा एमालेको पार्टी कार्यालय संचालन गरेको जनाएको छ । कार्यालय पुगेर ओली समूहका जिल्ला अध्यक्ष एवं तत्कालिन एमाले मकवानपुरका जिल्ला सचिव एकालाल श्रेष्ठले काम संचालनको शुरुवात गरेका छन् ।
एमालेको कार्यालय अब नियमित संचालन हुने जनाईएको छ । पार्टी कार्यालयमा संविधानसभा सदस्य अनन्त पौडेल, नेताहरु रामेश्वर राना, नविन सिग्देल, गोपाल श्रेष्ठ, लालबहादुर थापा लगायत पुगेका थिए । सुरक्षा जोखिमलाई मध्येनजर गर्दै बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।








