जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरूको माग पूरा भएमा सत्ता सहकार्यको कुरा हुने बताए ।बुधबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै वरिष्ठ नेता महतोले आफ्ना मागहरू पूरा नभए सरकारमा नजाने स्पस्ट पारेका छन् । महतोले भने, ‘रेशम चौधरीको रिहाइ, संविधान संशोधन, मधेश र थरुहट आन्दोलनका सम्पूर्ण मुद्दा फिता गर्ने लगायतका माग पूरा भएपछि मात्र सत्ता साझेदारीको कुरा हुन्छ ।’
ओली सरकारलाई आफूहरूले पहिले नै समर्थन गरेर हेरिसकेको स्मरण गर्दै महतोले आफूहरू ओलीलार्इ समर्थन गर्न मात्रै जन्मिएको हो भन्दै प्रश्न गरे । आफूहरू सरकारलाई सित्तैमा समर्थन नगर्ने बताउँदै मागहरूको उचित सम्बोधन हुनुपर्नेमा जोड दिए । मागहरू पूरा गर्नेहरूप्रति आफूहरूको सहानुभूति हुने उनको भनाइ छ । ओली सरकारले काम नगरेर कुरामा मात्र जोड दिएको आरोप लगाउँदै महतोले कुराकानी र वार्ताको लागि कार्यदल बनेको बताए ।
आफूहरू पटक–पटक ठगिएको गुनासो गर्दै उनले माग सम्बोधनको कुराकानीका लागि वार्ता कार्यदल बनाएको स्पस्ट पारे। ओली नेतृत्वको सरकारमा जाने र नजाने सन्दर्भमा पार्टीमा दुई मत देखिएको सञ्चारकर्मीको प्रश्नमा उनले सञ्चारकर्मीले आफ्नो पार्टीमा दुई मत बनाइदिएको आरोप लगाएका हुन् । पछिल्लो समय माओवादी केन्द्र र एमालेसँगको सत्ता सहकार्यमा जसपा निर्णायक बनेको छ । नेकपा एमालेको नेतृत्वमा रहेको सरकारमा जसपाको मात्र समर्थन रहेमा पनि एमालेले ‘कम्फर्टेबल’ तरिकाले सरकारमा रहिरहन सक्छ ।








