चितवन। नारायणगढ–मुग्लिङ सडकखण्ड आज अपरान्ह तीनबजे देखि नियमित सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–६ चारकिलोमा पहिरो रोकथामका लागि यही फागुन २३ गतेदेखि बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द गरिएको सडक आज दिउँसोदेखि नियमित सञ्चालनमा आएको हो ।
पहिरो रोक्नका लागि एक साता सो स्थानमा दुइतर्फी सवारी आवागमन रोकी काम भएको थियो । आज दिउँसो ३ बजेबाट पहिरो रोक्ने काम सम्पन्न गरेर नियमितरुपमा आवागमन शुरु भएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनीयर सविना रानाभाटले जानकारी दिइन् ।
सो ठाउँमा गाडी रोकेर पहिरो रोक्ने काम सम्पन्न भएको छ । सोही ठाउँ नजिकै गत वर्षको असारपछि ठूलो पहिरो खसेको भए पनि तत्काल पन्छाउने योजना छैन । रानाभाटले भनिन, “हाल रोकथाम गरेको पहिरोभन्दा अझ माथि ठूलो पहिरो छ ।” यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताइन् । हालको ठेक्कामा सो पहिरो समावेश नहुने भएकाले बजेटको व्यवस्थापन गरेर काम गर्नुपर्ने रानाभाटले जानकारी दिइन् ।








