चितवन । ग्लोबल रिसाइकलिङ डेको अवसर पारेर चितवनमा पहिलो पटक वृहत साइकल र्याली गरिने भएको छ । फोहोरमैला व्यवस्थापनमा काम गर्ने व्यक्तिको सम्मानका लागि हाम्रो साइकल यात्रा नाम दिएर चैत ५ गते भरतपुरमा वृहत साइकल ¥यालीको आयोजना गरिएको हो । समाजलाई सधैँ सफा राख्ने सफाइकर्मीहरुको सम्मान स्वरुप सन् २०१० देखि क्रिएसन नेपालले काठमाडौँमा आयोजना गर्दै आएको कार्यक्रम यसवर्षदेखि चितवनमा समेत गर्न लागिएको हो ।
सो अवसरमा भरतपुरको चौबीसकोठीबाट सुरु हुने साइकल र्याली धर्मचोक, लङ्कू हुँदै शिवघाटसम्म पुग्ने आज ( मंगलबार ) आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । पत्रकार सम्मेलन कार्यक्रममा रिसाइकलर नेपालका संस्थापक आनन्द मिश्रले सन् २०१८ देखि आफूहरुले प्लाष्टिकजन्य फोहोरहरुको प्रशोधन गरेर पुनः प्रयोग गर्दै आइरहेको बताउनुभयो ।
उहाँले समाजमा फोहोर व्यवस्थापन गर्ने मानिसको मुख्य भुमिका रहेको बताउनुभयो । उहाँले सोचलाई परिवर्तन गर्न सके मात्र देश परिवर्तन हुने बताउनुभयो । एउटा प्लाष्टिकको आयु २ सय देखि ४ सय वर्ष हुने भएकाले त्यसले वातावरणमा निकै असर पारिरहेको बताउनुभयो । त्यस्तै पत्रकार सम्मेलनमा संस्थाकी कार्यक्रम प्रबन्धक प्रतीक्षा क्षेष्ठले साइकल र्यालीमा १५० भन्दा बढीको सहभागिता रहने बताउनुभयो । उहाँले सफाइकर्मीका कारण वातावरण सफा हुने बताउनुभयो ।
श्रेष्ठले उनीहरु नै समाजका असली हिरो समेत भएको बताउनुभयो । रिसाइकलर नेपालले भरतपुरसहित काठमाडौँ तथा पूर्वी नेपालका सहरहरुमा फालिएको फोहोर संकलन गरेर पुनः प्रशोधनको काम गर्दै आएको श्रेष्ठको भनाइ छ । उहाँले सस्थाले सफाई कर्मीहरुलाई हेल्थ क्याम्प , सुरक्षाका उपकरण दिने कार्यहरु गरिरहेको बताउनुभयो।
फोहोर व्यवस्थापनको लागि युवा र बच्चाहरुसगँ मिलेर विभिन्न कार्यक्रम गर्दै आईरहेको बताउनुभयो । संस्थाको भरतपुर ४ शिवघाटमा रहेको रिसाइकल साथी सेन्टरबाट हालसम्म एक हजार ४५० टन प्लाष्टिकको फोहोर प्रशोधन गरेर पुनः प्रयोगमा ल्याइएको श्रेष्ठले बताउनुभयो ।








