काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थनबाट पछि हटेको छ । बुधबार बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै प्रदेश सरकारको समर्थनबाट पछि हटेको हो ।
सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमालेबाट सरकारमा रहेका तीन जना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको प्रमुख सचेतक गुलावजंग शाहले जानकारी दिएका छन् । एमाले र माओवादी केन्द्र नेकपामा एकीकरण हुनुअघि एमालेको समर्थनमा माओवादी केन्द्रबाट महेन्द्रबहादुर शाही मुख्यमन्त्री बनेका थिए ।
सर्वोच्च अदालतले पार्टी एकीकरणलाई खारेज गरेर एमाले र माओवादी केन्द्रकै अवस्थामा बिउँताइदिएपछि अहिले एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । बैठकमा एमालेका १९ जना सांसदमध्ये १० जना सहभागी भएका थिए । एमालेले समर्थन फिर्ता लिएसँगै शाहीको पद गुम्ने पक्का भएको छ । कर्णालीमा सरकार बनाउन २१ जना सांसद आवश्यक पर्छ ।








