काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ् कम्युनिष्ट लिग (वाईसीएल)ले सदस्यता थप गर्ने निर्णय गरेको छ ।
चैत ४ र ५ गते काठमाडौंमा बसेको वाईसीएलको केन्द्रिय समितिको बैठकले हरेक निर्वाचन क्षेत्रमा १ हजार जनाको दरले १६५ निर्वाचन क्षेत्रमा १ लाख ६५ हजार सदस्यता चैतभित्र विस्तार गर्ने निर्णय गरेको हो । बैठकले संगठनको विधान संशोधन गर्दै केन्द्रिय समितिको संख्या १६१ सदस्य हुने निर्णय गरेको अध्यक्ष राम प्रसाद सापकोटा ‘दीपशिखा’ले जानकारी दिए ।
तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच सम्पन्न एकता सर्वोच्च अदालतको फैसलाले भंग गरेसँगै वाइसीएल पनि ब्युँतिएको हो । वाइसीएलले संगठनको राष्ट्रिय भेला आउँदो ०७८ साल जेठ २८-३० गते काठमाडौंमा सम्पन्न गर्ने निर्णय पनि भएको छ ।








