चितवन । चितवनमा १२औँ राष्ट्रिय जनगणना २०७८ को तयारी तीव्र पारिएको छ । आज (बिहीबार ) जिल्ला जनगणना कार्यालय चितवनले एक कार्यक्रम गरेर जानकारी दिएको छ । कार्यक्रममा जिल्ला जनगणना अधिकारी यज्ञमूर्ति भण्डारीले यसपटक मेरो गणना मेरो सहभागिता भन्ने नाराका साथ जनगणना हुन लागेको बताउनुभयो ।
उहाँले जनगणनाका लागि जिल्लामा ५ वटा समिति बनाएर कामहरु अगाडि बढाइने बताउनुभयो । उहाँले जिल्लामा सात वटा स्थानीय जनगणना कार्यालय खोल्ने र स्थानीय जनगणना समन्वय समिति गठन गरिने जानकारी दिनुभयो । उहाँले गणनाका लागि जिल्लाका सबै स्थानीय निकायमा पत्राचार गरिसकिएको बताउनुभयो ।उहाँले जनगणनाका लागि ८९५ गणक र २०३ सुपरिवेक्षकको दरबन्दी प्राप्त भएको र उनीहरुलाई तालीम दिन जिल्लामा तीन महिलासहित ३४ गणक प्रशिक्षक खटाइँने बताउनुभयो ।
त्यस्तै उहाँले जनगणनाका लागि ८० वटा प्रश्नावली रहेको बताउनुभयो । उहाँले एउटा परिवारको फारम भर्नका लागि ४५ मिनेटसम्म समय लाग्ने बताउनुभयो । हरेक १० वर्षमा हुँदै आएको जनगणना यसवर्ष नमूना गणनाको रुपमा नभएर पूर्ण गणना हुने भण्डारीको भनाइ छ । जनगणनामा घरधनी बसोबास नगर्ने घर÷भवन÷मल पनि गणनामा समेटिँदैछ। अर्को सामुदायिक प्रश्नावली मुख्य जनगणनाको अवधिमा भरिनेछ। सुपरिवेक्षकले नै सामुदायिक प्रश्नावली भराउनेछन् । गाउँ, सहर छुट्ट्याउने गरी प्रश्नावली तयार गरिएको छ।
यसपटक जनगणनामा पुख्र्यौली भाषाको प्रश्न थप गरिएको छ। मातृभाषा र दोस्रो भाषा समावेश गरिएको छ। यसअघि २०५८ र २०६८ मा पूर्णगणना विधि र नमूना छनोट विधिबाट जनगणना गरिएको थियो । कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी प्रमुख अतिथि हुनुहुन्थ्यो ।








