काठमाडौं । दिवंगत कांग्रेस नेता नवीन्द्रराज जोशीको आज अन्त्येष्टि गरिएको छ। उपचारको क्रममा शुक्रबार नर्भिक अस्पतालमा निधन भएका नेता जोशीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो। स्वर्गीय जोशीको पार्थिव शरीरमा उनका दाजु राजुराज जोशी र भतिजा सौरभ जोशीले दागवत्ती दिएका थिए ।
अन्त्येष्टिपूर्व नेता जोशीको शवलाई श्रद्धाञ्जलीका लागि उनको निजी निवास याख्याटोल र कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो। उनको पार्थिव शरीरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, नेकपा एमालेका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेललगायतका नेताले श्रद्धाञ्जली दिएका थिए ।
गत फागुन १४ गते मष्तिष्कघात भई नर्भिकको भेन्टिलेटरमा उपचाररत जोशीको शुक्रबार साँझ ८ः ३० बजे निधन भएको हो । गत फागुन १४ गते बिहान मस्तिष्कघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल हुँदै नर्भिक अस्पताललाई भर्ना गरिएको थियो । विसं २०१९ असार ३ गते काठमाडौँमा जन्मिएका नेता जोशी २०७० मा काठमाडौँ क्षेत्र नं ८ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।








