काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नापी प्रशासन ‘लेस फेस, लेस पेपर र क्यास लेस’ भएको बताएका छन् । बिहिबार अनलाईन ल्याण्ड म्यानेजमेन्ट सिस्टमका दुई वटा सफ्टवेयर ‘ल्याण्ड इन्फरमेसन सिस्टम’ तथा ‘मेरो कित्ता’ को औपचारिक उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘हामी डिजिटल नेपाल बनाउँदैछौं। नापीको क्षेत्रमा मात्र हैन, नेपाल ल्याण्ड इन्फरमेसन सिस्टम मात्रै हैन।
मेरो कित्तामा मात्रै हैन। हरेक ठाउँ डिजिटल बनाउँछौं।’ ओलीले भने, ‘हामी मोर्डनाइजेसनतर्फ छौं। हामी आफैंले टेक्नोलोजीको विकास गर्नुपर्छ।’ उनले डिजिटल ल्याण्ड म्यानेजमेन्ट सिस्टमको शुरुवात गर्ने नेपाल नै पहिलो मुलुक भएको दाबी गरे । ‘डिजिटल स्वाइल म्यानेजमेन्ट सिस्टमको शुरुवात गर्ने नेपाल विश्वकै पहिलो मुलुक हो । यस्तो सिस्टम अरु कसैले पनि शुरुवात गरेका छैनन् ।
यसमा थप अहिले ल्याण्ड म्यानेजमेन्टमा समेत हामीले डिजिटल सिस्टमको विकास गरेका छौं । यो पनि पहिलो हुनसक्छ’ प्रधानमन्त्री ओलीले भने । नापी विभागले घरमै बसेर जग्गाको नक्सा प्रिन्ट गर्न र राजश्व बुझाउने प्रणाली सञ्चालनमा ल्याएको छ।
यसलाई विभागले ‘नेपाल ल्यान्ड इन्फरमेसन सिस्टम र मेरो कित्ता प्रणाली’ भनेको छ। बिहीबारदेखि यो प्रणाली काठमाडौंको कलंकी, डिल्लीबजार र भक्तपुर नापी कार्यालयमा लागू भएको छ।








