चितवन । चितवनस्थित रामपुर कृषि क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का विद्यार्थीमाथि साङ्घातिक हमला भएको भन्दै नेपाली काँग्रेसले घटनाको निन्दा र भत्सर्ना गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेका हुन् ।
शान्तिपूर्ण विचार प्रकट गर्ने र ज्ञानको अनुसन्धान गर्ने चेतनाको केन्द्र शैक्षिक स्थलमा कोहीबाट पनि हुने हिंसात्मक बल प्रयोग कहिल्यै पनि क्षम्य हुन नसक्ने जारी विज्ञप्तिमा उल्लेख छ । यस्तो प्रवृत्ति देशका जुनसुकै कुनामा आफ्ना निकटबाट होस् या अन्यबाट काँग्रेस नीतिगत रुपले नै त्यसका विरुद्ध सदैव उभिने उल्लेख गर्दै उनले घटनामा घाइते भएका नेविसंघ इकाइ सभापति दिपेश बानियाँ र खेमराज उपाध्यायको उपचार भइरहेको जानकारी गराएका छन् ।
इकाइ सभापति बानियाँ र उपाध्यायको अवस्था गम्भीर छ । दुबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।आक्रमणबाट सोनाम लामा र हिमाल आचार्यलगायतका विद्यार्थी पनि घाइते छन् । यस्तै दोषीलाई पक्राउ गर्ने कार्य अझैसम्म नभएको उल्लेख गर्दै काँग्रेसले घटनाका दोषीलाई अविलम्ब गिरफ्तार गरी कारवाही गर्न सरकारसँग माग गरेको छ ।









