चितवन । यसअघि काठमाडौंमा सम्पन्न भएको हस्पिटालिटी मेनेज्मेण्ट सम्बन्धी दोस्रो चरणको तालिम चितवनमा सम्पन्न भएको छ । शुक्रबारबाट नारायणगढमा सञ्चालन गरिएको दुईदिने तालिमको उद्धघाटन नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा धनञ्जय रेग्मीले गरेका हुन् । तालिममा नवलपुर होटल व्यवसायी संघका प्रतिनिधि ,मकवानपुर होटल एसोसियसनका प्रतिनिधि मुकुन्दसेन मौलाकालीका होटल व्यवसायी संघका प्रतिनिधि, चितवन होटल व्यवसायी संघका प्रतिनिधि, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनका प्रतिनिधि लगायत होटल व्यवसायीहरुले प्रशिक्षण लिएका थिए ।
दुई दिनसम्म सञ्चालन भएको तालिममा हस्पिटालिटी सम्बन्धी पांँचवटा बिषयमा पर्यटन बोर्डका प्रशिक्षकहरुबाट तालिम प्रदान गरिएको थियो । उद्धघाटनपछि बोल्दै प्रमुख अतिथि डा. धनञ्जय रेग्मीले नेपालका होटलहरुमा हस्पिटालिटी मेनेज्मेण्ट कमजोर रहेको भन्दै यस्ता तालिमले व्यवस्थापन गर्न थप मदन पुग्ने बताए । विगतका दिनमा ठूला होटलहरुलाई मात्र समेटर बोर्ड अघि बढेपनि हालका दिनमा साना तथा मझौला होटल व्यवसायीलाई बोर्डले समेट्दै गएको बताए ।
उनले आवश्यकता अनुसार सातवटै प्रदेशहरुमा तालिम सञ्चालन गर्न नेपाल पर्यटन बोर्ड सकारात्मक रहेको बताए । महासंघको तर्फबाट मन्तव्य राख्दै महासंघका वरिष्ठ उपाध्यक्ष चुकेले महासंघले कोभिड —१९ को कारण सिर्जना भएको विषम परिस्थितिमा समेत महासंघको गरिमालाई कायम राख्न क्वारेन्टाईन व्यवस्थापन कार्यमा अग्रसरता देखाएको र व्यवसायीको समस्याका बारेमा नेपाल सरकारका विभिन्न निकायसँग छलफल र सहकार्य गरिएको बताए ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाह ठकुरीले होटल व्यवसायी महासंघ नेपालले ल्याएको प्रस्तावलाई भरतपुर महानगरपालिकाले सदैव साथ दिईरहेको भन्दै महानगरपालिकालाई पर्यटकीय महानगरपालिका बनाउन लागि परेको बताए । उधोग संघ चितवनका अध्यक्ष राजु पौडेलले उद्योग संघले ६० हजार वर्ग फिटमा प्रर्दशनी केन्द्र निर्माण गरेको र यसमा व्यवसायीहरुले विभिन्न किसिमका प्रदर्शनी , फेस्टीवलहरु गरी पर्यटन प्रवद्र्घन गर्न सक्ने उल्लेख गर्दै आफूहरु सहयोगको निमित्त तयार रहेको बताए ।
होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहले पर्यटन प्रवद्र्घन गर्नका निमित्त महासंघले विभिन्न सरकारी निकायहरुसँग समन्वय गरिसकेको र भोलिका दिनहरुमा महासंघले व्यवसायीहरुकै सल्लाह र सहकार्य गर्दै अघि बढ्ने बताए ।








