काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन सरेको छ । राप्रपा अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको उपस्थितिमा बसेको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले महाधिवेशन एक महिनापछि सार्ने निर्णय गरेको हो ।
अब महाधिवेशन जेठ २२ गतेदेखि २५ गतेसम्म हुने तय भएको छ । यसअघि राप्रपाले वैशाख २५ गतेदेखि २८ सम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो । सक्रिय सदस्यता वितरण र स्थानीय तहहरुको अधिवेशनका लागि समय अपुग भएको भन्दै महाधिवेशन सारिएको हो ।
बैठकले सक्रिय सदस्यता वितरण गर्ने म्याद बैशाख मसान्तसम्म थप गरेको छ । त्यस्तै, वडादेखि जिल्ला तहसम्मको अधिवेशन बैशाख मसान्तसम्म, प्रदेश कार्य समितिको निर्वाचन जेठ ७ गतेसम्म, महाधिवेशन प्रतिनिधि निर्वाचन जेठ १० गतेसम्म गर्ने निर्णय पनि गरेको छ ।








