चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखाले स्वास्थ्यलाई प्राथमिकतामा राखेर पेशागत कर्तव्य पूरा गर्न सञ्चारकर्मीहरुमा अपिल गरेको छ ।महासंघले आज एक अपिल प्रकाशिन गरी सम्भव भएसम्म घरमै बसेर इमेल, मोवाईल, टेलिफोन, सामाजिक संजाल लगायत आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी समाचार सम्प्रेषण भनेको छ ।
कोभिड–१९ संक्रमणको दोस्रो लहर नेपालमा देखिएको छ, यसको असर चितवनमा पनि रहेको उल्लेख गर्दै अपिलमा भनिएको छ “स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्रै पेशागत कर्तव्य पूरा गर्न आम सञ्चारकर्मीलाई महासंघ आग्रह गर्दछ ।”
समाचार सामग्री तयार गर्ने शिलशिलामा प्रत्यक्ष नभेटी नहुने भएमा सामाजिक दुरी कायम गर्न आग्रह गर्दै अपिलमा भनिएको छ “सकभर आफ्नै सवारी साधन मात्रै प्रयोग गरौ । आफुले प्रयोग गर्ने सवारीमा अस्थायी रुपमा पत्रकार वा प्रेस टाँसौ, आफ्नो परिचयपत्र देखिने गरी लगाऔं ।
सम्भव भएसम्म एउटै सञ्चारका सामाग्री प्रयोग गरौं, आफूले प्रयोग गरेका सञ्चार सामाग्री अरुलाई नदिऔं र अरुका सामाग्री पनि आफूले नचलाउँ । आफूले प्रयोग गरेका सामग्री नियमित सेनीटाइज गरौ ।”








