राप्ती । चितवनको राप्ती नगरपालिकाको क्वारेन्टीनमा बसेका १२ जना घर फिर्ता भएका छन् । पीसीआर परीक्षणसहित क्वारेन्टीन अवधि पुरागरू उनीहरु घर फिर्ता भएको नगरपालिकाका स्वास्थ्य प्रमुख सुरेश न्यौपानेले बताए ।
१२ जना मध्ये १० जनाको पीसीआर परीक्षण गरिएको थियो । न्यौपानेका अनुसार डिस्चार्ज भएका मध्ये १० जना व्रह्मनगर माध्यमिक विद्यालय र २ जना वुद्धशान्ती माध्यमिक विद्यालयको क्वारेन्टीनमा बसेका थिए । वुद्धशान्ती माध्यमिक विद्यालयको क्वारेन्टीनमा रहेकाहरु कोरोना संक्रमितहरुको सम्पर्कमा थिए । बेलायतबाट आएका राप्ती ८ का आमा छोरामा कोरोना संक्रमण देखिएको थियो । उनीहरु मध्ये छोरालाई निको भईसकेको छ भने आमाको कोरोना रिपोर्ट लगातार पोजेटिभ आईरहेको छ । उनको भरतपुर अस्पतालको आईसोलेसनमा उपचार भईरहेको छ ।
कोरोना संक्रमित आमा छोरालाई अस्पतालसम्म पुर्याएको एम्वुलेन्सका चालक पनि व्रह्मनगर माविको क्वारेन्टीनमा थिए । एम्वुलेन्स समेत सोही क्वारेन्टीनमा थियो । पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि चालक सहित १० जनालाई शुक्रवार डिस्चार्ज गरिएको राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगावहादुर भुजेलले बताए ।सो क्वारेनटाईनमा अब एक जना बाँकी छन् । उनी पछि आएकाले समयावधि पुरा गर्न बाँकी छ । यता वुद्धशान्ती माविको क्वारेन्टीनमा रहेका ६ जना मध्ये २ जना शुक्रवार घर फिर्ता भएका छन् । ४ जनाको समयावधि पुरा हुन बाँकी छ । शुक्रवार डिस्चार्ज भएकाहरुलाई एक साता घरमै क्वारेन्टीनमा बस्न भनिएको प्रमुख प्रशासकीय अधिकृत भुजेलले बताए ।








