काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटीको आकस्मिक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बिहान १० बजे बोलाएको बैठक भर्खरै सुरु भएको भएको हो ।
आजको बैठकमा उपनिर्वाचनका लागि उमेदवार तय गर्ने, प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत, नयाँ सरकार गठन, माधव नेपाल पक्षका सांसदलाई थप कारबाही, कोरोना महामारीको रोकथाम तथा नियन्त्रणलगायत विषयमा छलफल हुने स्रोतले बताएको छ । प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते संसद्बाट विश्वासको मत लिन लागेका छन् ।
तर, प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिन सहज छैन । तत्काल कायम रहेको सदस्य संख्याको बहुमत नपुगे ओली सरकार ढल्ने छ । यसैबिच प्रधानमन्त्री ओलीले बुधबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुगेर कांग्रेसका शीर्ष नेताहरूसँग विश्वासको मत दिन, ‘अर्ली इलेक्सन’ र सहकार्य गर्ने प्रस्ताव गरेका थिए ।
तर, देउवासहित कांग्रेस नेताले विपक्षीको हैसियतले विश्वासको मत दिन नसक्ने स्पष्ट पारेका थिए।








