काठमाडौं । टोखा नगरपालिकामा आज नगर उपप्रमुखलाई संघ/संस्थाहरुले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । आज बिहान टोखा चण्डेश्वरीमा रहेको बागमती प्रदेश स्तरीय अस्पतालमा संघ/संस्थाका प्रतिनिधिहरु स्वास्थ्य सामाग्री सहित पुगेका थिए ।
आज सहयोग गर्ने “सेभ द चिल्ड्रेन” नामक आइएनजिओले २ थान आइसियु बेड २ लाख ३७ हजार बराबरको, बेड साइड ट्रली २ थान ३७ हजार बराबरको, अक्सीजन कन्सन्ट्रेटर २ थानको १ लाख २२ हजार बराबरको, बेड साइड स्त्रीन ४ थान १५ हजार बराबरको, मेडिकल प्याटेन्ट मनिटर २ थानको दुई लाख १४ हजार बराबरको, बिरामीको वेट लिने मेसिन २ थानको १ हजार ८ सय बराबरको, सक्सन डिभाइस २ थान २१ हजार ५ सय बराबर गरी ६ लाख ५० हजारको उपकरणहरु टोखा चण्डेश्वरीमा नगर उपप्रमुखलाई हस्तान्तरण गरेको छ ।
उक्त सामानहरु ल्याउन नगर प्रमुख प्रकाश अधिकारी र उपप्रमुख ज्ञानमायाँ डंगोलको विशेष पहल कदमीमा उपलब्ध भएको थियो । त्यस्तै नितेन मेमोरियल सेकेण्डरी स्कुलले १२ पिस पिपिई, ५ पिस थर्मल गन, २ पिस बिपि चेक मेसिन सहयोग गरेको छ । कोभिड संक्रमित बिरामीहरुले प्रयोग गर्ने केही औषधिहरु, भिटामिनहरु, फेस माक्स ६ बक्स, हेड क्याप १ बक्स, फेस सिल्ड २ प्याकेट, के–९५ माक्स २०० पिस, २० पिस थर्मोमिटर, प्लस चेक गर्ने मेसिन १ पिस, सेनिटाइजर ५ लिटरका ४ ग्यालीन, सेनिटाइजर स्प्रे ३ पिस, अक्सीजन स्लाइडर ठूलो १ पिस लगायतका सामाग्री टोखा वडा नं. २ का अध्यक्ष दिपकराज जोशीको पहलकदमीमा नगर उपप्रमुखको हातमा हस्तान्तरण गरिएको थियो ।
त्यस्तै लायन्स क्लब अफ काठमाडौं नेपालयले आजै केही पिपिई, पल्स अक्सीमिटर, सेनिटाइजर र मास्क सहयोग गरेको छ । प्रदिप डंगोलको पहलमा कुमुदिनी संस्थाले पनि १ हजार पिस माक्स सहयोग गरेको थियो । नेपाली काँग्रेस टोखा नगर कमिटिबाट १ थान अक्सीजन कन्सन्ट्रेटर सहयोग प्राप्त भएको थियो ।
नगर उपप्रमुख ज्ञानमायाँ डंगोलले फरकपत्रसँगको छोटो कुराकानीमा सहयोग गर्ने दाता र मनकारी हातहरुलाई धन्यवाद प्रकट गर्नुभयो । अन्य संघ/संस्थाहरुलाई पनि टोखा चण्डेश्वरी आइसोलेशनका लागि अक्सीजन लगायत स्वास्थ्य सामाग्री सहयोग गर्न आग्रह गर्नुभएको छ ।








