चितवन । देशकै सबैभन्दा बढी कोभिड आइसीयू निर्माण गरेर कोरोना संक्रमित बिरामीको उपचार गरिरहेको भरतपुरमा रहेको चितवन मेडिकल कलेज (सिएमसी)ले अक्सिजन सिलिण्डरको आपूर्ति नभए थप बिरामीको उपचार गर्न नसक्ने जनाएको छ । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक डा हरिश्चन्द्र न्यौपानेले आफूहरुसँग ५०० लिटर प्रति मिनेट क्षमताको आफ्नै अक्सिजन प्लान्ट भए पनि अहिलेको अवस्थामा यो पर्याप्त नभएको बताए ।
उनले फेसबुकमा स्टाटस लेख्दै हालसम्म बाहिरबाट ४०० वटा अक्सिजन सिलिण्डर ल्याएर बिरामीको उपचार गरिरहेको भन्दै थप अक्सिजन आपूर्ति नभए कोरोनाका नयाँ बिरामीको उपचार गर्न नसकिने जनाएका हुन् । देशका डोटी, कैलाली, नेपालगञ्जसहित काठमाडौँबाट समेत आइसीयूका लागि चितवनमा कोभिडका बिरामी आइरहेका भन्दै न्यौपानेले अस्पतालमा भर्ना भएका कोभिडका बिरामीमध्ये ५० प्रतिशत बिरामी आइसीयू र एचडीयूमा रहेका बताए ।
अहिले सिएमसीको आइसीयूमा १४६, भेन्टिलेटरमा ३२, कोभिड क्याबिनमा १९, आइसोलेसन आइसीयूमा १६, आइसोलेसन एचडीयूमा १० गरी २०९ जना कोभिडका बिरामीहरुले अक्सिजन सहित उपचार लिइरहेका उनको भनाइ छ । अस्पतालको ननकोभिड आइसीयूमा १२ तथा भेन्टिलेटरमा चार जना बिरामीको उपचार भइरहेको न्यौपानेले बताए ।
चितवनका विभिन्न अस्पतालमा अक्सिजनको संकट नआओस् भनेर सरकारी नियकाले सिलिण्डर वितरण गरिरहेको भन्दै न्यौपानेले केही मात्रामा अक्सिजन सिलिण्डर अपुग हुने मौखिक जानकारी आफूहरुलाई आएको बताए । कोरोनाका सिकिस्त बिरामीहरु धेरै भएको अवस्थामा सोहीअनुसार अक्सिजन आवश्यक पर्ने भन्दै उनले त्यसकै अनुपातमा अक्सिजन सिलिण्डर वितरण गर्न आग्रह गरेका छन् ।
अक्सिजन आपूर्ति कम भएको अवस्थामा सिएमसीले अक्सिजन चाहिने कुनै पनि बिरामी भर्ना गर्न नसक्ने न्यौपानेले बताएका छन् ।









