काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः शपथ गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले ओलीले वैशाख ३१ गते लिएको प्रधानमन्त्रीको शपथ त्रुटीपूर्ण रहेको भन्दै रिट हालेका हुन् ।
शपथ कानुनविपरीत भएकाले बदर गर्न माग गरिएको छ । साथै, निवेदकले संविधानको धारा–८० अनुसार शपथ बदर गरेर दोस्रोपटक शपथ गराउन माग गरेका छन् । यद्यपी, रिट भने दर्ता भैसकेको छैन । प्रधानमन्त्रीले शपथ लिँदा राष्ट्रपतिले उच्चारण गर्न आग्रह गरेको ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द ‘त्यो पर्दैन’ भनेर उच्चारण गर्न इन्कार गरेका थिए ।
यस्तै, मन्त्री नियुक्त भएका मणिचन्द्र थापा, दावा लामा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह, गौरीशंकर चौधरी र रामबहादुर थापा ‘बादल’को नियुक्ती बदर गर्न माग समेत गरेका छन् ।








