काठमाडौँ । नेपालगन्ज शिक्षण अस्पतालका डा. पुरुषोत्तम बर्मा संक्रमितको उपचारमा खटिँदै गर्दा आफैं बिरामी भए । कोभिडको पूरै लक्षण देखिए पनि पीसीआर जाँच गराउँदा रिपोर्ट भने नेगेटिभ आयो । रिपोर्ट पोजिटिभ आएको भए उनी आइसोलेसनमा बस्थे । लक्षण सबै देखिए पनि रिपोर्ट नेगेटिभ आउँदा आराम गरेर बस्छु भन्न पाएनन् ।
‘कोभिडको पूरै लक्षण खेप्नुपर्यो तर रिपोर्ट दुईपटकसम्म नेगेटिभ आयो,’ उनले भने, ‘कहिलेकाहीं फल्ट हुन्छ । मैले बिदा भने लिइनँ ।’ बिरामीको उपचार गर्दागर्दै उनलाई अहिले त्यस्तो लक्षण छैन । दैनिक १२ घण्टा ड्युटीमा खटिएका डा. बर्माले भने, ‘शरीर थकित हुन्छ तर बिरामी बचाउन मन ऊर्जावान बनाएर काम गरिरहेका छौं ।’
धेरै बिरामी, सीमित जनशक्ति भएका बाँकेका अस्पतालमा बर्माजस्ता स्वास्थ्यकर्मीले आफ्नो सुविधा बिर्सेर संक्रमितको उपचार गरिरहेका छन् । भेरी अस्पतालकी स्टाफ नर्स कमला नेपाली आफैं कोरोना संक्रमित भएको २२ दिन पुग्यो । तैपनि बिदामा बसेकी छैनन् । संक्रमितकै उपचारमा नियमित खटिएकी छन् ।
अस्पतालमा बिरामीको चाप घटेको छैन । अक्सिजन अभावमा दिनदिनै ज्यान गुमाउने बिरामी देखेर उनलाई मन थाम्न निकै गाह्रो हुन्छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।








