काठमाडौँ । विवेकशील साझा पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाएर पदमुक्त गर्न विपक्षी दलहरूलाई आह्वान गरेको छ । शुक्रबार विवेकशील साझााका प्रवक्ता शरदराज पाठकले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानमाथि श्रृखलाबद्ध रूपमा भइरहेका प्रहारप्रति विवेकशील साझा पार्टी गम्भीर चिन्ता व्यक्त गरेका हुन् ।
‘प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानमाथि श्रृखलाबद्ध रूपमा भइरहेका प्रहारप्रति विवेकशील साझा पार्टी गम्भीर चिन्ता व्यक्त गर्दछ।’ विज्ञप्तिमा भनिएको छ, ‘संविधानको रक्षा गर्ने दायित्व बोकेको राष्ट्रपति संस्थाको बारम्बार साख गिराउने, अपमान गर्ने र ‘देशको होइन केवल प्रधानमन्त्रीको राष्ट्रपतिका रूपमा काम गर्ने’ विद्यादेवी भण्डारीमाथि तत्काल महाभियोग लगाएर उनलाई पदमुक्त गर्दै संसद्मा प्रधानमन्त्री ओलीको विपक्षमा रहेका दल तथा सांसदहरू एक जुट भई नयाँ सरकार गठनका लागि पहल गर्न विवेकशील साझा पार्टी आह्वान गर्दछ।’
प्रधानमन्त्री ओलीको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदाझैँ रबर स्ट्याम्पसरह सदर गर्नु पुरापुर असंवैधानिक कदम भएको विवेकशीलले जनाएको छ । यस्तो अनौठो र अत्यन्त अस्वाभाविक दृश्य विश्व राजनीतिमा सायदै कतै देखिएला भन्दै व्यंगसमेत गरिएको छ । ‘प्रधानमन्त्रीले पदमा बहाल रहँदै अर्को प्रधानमन्त्री नियुक्त गर्न सिफारिस गर्ने र राष्ट्रपतिले त्यसलाई सदर गर्ने जस्तो अनौठो र अत्यन्त अस्वाभाविक दृश्य विश्व राजनीतिमा सायदै कतै देखिएला।’ विज्ञप्तिमा उल्लेख छ ।








