चितवन । चितवनको राप्ती नगरपालिकाका जनप्रतिनिधीहरुले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थापित कोषमा रकम जम्मा गर्ने भएका छन् । नगर कार्यपालिकाको पछिल्लो वैठकले जनप्रतिनिधीले पाउने सुविधाबाट २५ प्रतिशत कोषमा जम्मा गर्ने निर्णय गरेको हो । निर्णय अनुसार एक महिना बरावर पाउने सुविधावापतको २५ प्रतिशत कोषमा अनिवार्य जम्मा गर्ने निर्णय भएको नगर प्रमुख प्रभा बरालले वताईन् ।
कर्मचारी र शिक्षकलाई भने अनिवार्य भनिएको छैन् । वैठकले उनीहरुलाई इच्छा अनुसार कोषमा जम्मा गर्न अनुरोध गर्ने निर्णय गरेको प्रमुख बरालले वताईन् । कोभिडका सम्पूर्ण विरामीलाई उचित व्यवस्थापन र त्यसका लागि नगरले पहल गर्ने,अस्पतालमा आवश्यक सेवा सुविधाका लागि तत्पर हुने लगायत निर्णय पनि वैठकले गरेको छ ।
राप्तीमा वैशाख यता १५१ जनामा कोभिड पोजेटिभ देखिएको छ भने ३८ जनाले कोभिडलाई जितेका नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेले वताए । ८ जनाले भने कोभिडकै कारण ज्यान गुमाएका छन् । नगर प्रमुख बरालका अनुसार गत चैत २९ गते राप्ती ११ मा भएको सवारी दुर्घटनामा परि घाईते भएका र ज्यान गुमाएकाहरुका परिवारलाई सहयोगका लागि नगरबाट १५ लाख रुपैयाँ सहयोग गर्ने गराउने निर्णय पनि वैठकले गरेको छ ।








