काठमाडौँ । नेपालले खरिद गरेको १० लाख मात्रा कोभिडसिल्ड खोप भारतबाट आउने सम्भावना कम भएपछि विकल्पमा अमेरिकाको जोनसन एन्ड जोनसन र अन्य देशमा उत्पादित अस्ट्राजेनेका खोप माग गर्ने तयारी थालिएको छ । खोप सल्लाहकार समितिले कोभ्याक्स कोभिडसिल्डको विकल्पमा उपयुक्त हुने जोनसन एन्ड जोनसन र अस्ट्राजेनेकाको खोप माग गर्ने भएको हो ।
भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले तत्काल खोप दिन नसक्ने बताएपछि कोभ्याक्सले नेपाललाई कोभिडसिल्डको विकल्प माग गरेको थियो । विकल्पमा कोभ्याक्समा आबद्ध एस्ट्राजेनेका र जोन्सन एन्ड जोन्सन खोप उपयुक्त हुने खोप विज्ञ बताउँछन् । स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखा निर्देशक डा. तारानाथ पोखरेलले खोप सल्लाहकार समितिको मंगलबार बसेको बैठकबाट ‘पहिलो विकल्पमा एस्ट्राजेनेका र जोन्सन एन्ड जोनसन उपयुक्त हुने’ निष्कर्ष निकालिएको जानकारी दिए ।
‘कोभ्याक्समा आबद्ध भ्याक्सिन कम भएकाले एस्ट्राजेनेका र जोन्सन एन्ड जोनसन खोप उपयुक्त हुने देखिन्छ,’ डा. पोखरेलले भने, ‘६५ वर्षमाथिका झन्डै १४ लाख ५० हजार ज्येष्ठ नागरिकले दोस्रो मात्रा लगाउनुपर्नेछ । सम्भवतः यी दुई खोप कोभ्याक्समा सिफारिस हुन्छ ।’ यो समाचार आजको राजधानी दैनिकमा छ ।








