चितवन । गत जेठ ७ गते राती राष्ट्रपति विद्या भण्डारीले गरेको संसद विघटनको विरोधमा नेपाली कांँग्रेसको भातृ संगठन तरुण दलले आपत्ति जनाएको छ । आज एक विज्ञप्ती मार्फत तरुण दल क्षेत्र नम्बर १ ले प्रधानमन्त्री के.पी. ओलीद्वारा षडयन्त्रपूर्वक गरिएको प्रतिनिधि सभा विघटन असंवैधानिक, अलोकतान्त्रिक, निरङ्कुश स्वेच्छाचारी र प्रतिगामी भएको भन्दै भत्र्सना गरेको हो ।
क्षेत्र नम्बर १ का अध्यक्ष प्रज्वल दवाडीद्धारा जारी विज्ञप्तिमा यो कदमले राष्ट्रपति र प्रधानमन्त्रीले नेपाली जनताको अस्थाको केन्द्र संविधान जस्तो गरिमामय दस्तावेजलाई निजी सम्पतीका रुपमा आफु अनुकुल प्रयोग गरि रहेको आरोप छ । विज्ञप्तिमा अघि भनिएको छ, ,‘उक्त कदम इतिहासमै जनप्रतिनिधिहरुको साझा थलो संसद माथी गरिएका सबै भन्दा ठुलो धोका र गद्दारी पुर्ण कार्य हो र उक्त कार्यको नेपाल तरुण दल चितवन क्षेत्र नं. १ घोर निन्दा गर्दछ ।’ संघिय लोकतान्त्रिक गणतन्त्र प्रति सुरुदेखि नै पूर्वाग्रह राख्ने ओलीले संवैधानिक संकट निम्त्याउने आफ्नो प्रयत्नलाई एक कदम अगाडी बढाएको भन्दै तरुणदलले २०७७ पौष ५ को असफल संसद विघटनको निरन्तरता भएको दाबी गरेको छ ।
‘विदेशी शक्तिहरुको इच्छा अनुसार नेपालमा अस्थिरता श्रृजना गर्ने योजना अनुसार यस्तो कदम चालिएको हो भन्ने कुनै शंका छैन ।’ विज्ञप्तिमा भनिएको छ । ‘सबै मिलेर कोभिड–१९ ले निम्त्याउने संकटको निवारण गर्ने समयमा चुनावको नाटक गर्दै चालिएको अंसवैधानिक कदमको हामी निन्दा गर्दछौं । नेपाल र नेपाली जनताको सात दशक लामो निरन्तरको संघर्षबाट प्राप्त व्यवस्था र यस व्यस्थाले अंगिकार गरेको लोकतान्त्रिक विधि र पद्धतीलाई खलल बनाउँदै नेपालीको संविधान २०७२ ले निदृष्ट प्रकृया विपरित मनोमानी तरिकाले असंवैधानिक ढंगबाट यो संविधानको मर्म र भावना प्रतिकुल राष्ट्रपतिद्वारा सिंगो नेपाली जनता र व्यवस्था माथि नै घात भएको छ ।
यो नेपालको लोकतान्त्रिक संविधान विरुद्धको एक अक्षम्य अपराध हो ।’अध्यक्ष दवाडीद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । नेपाली जनताको जीवनमाथी सरकारको गैर जिम्मेवारपन र नेपाली जनता सुतेको बेला मध्यराती राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री के.पी. ओलीद्वारा संविधान च्यात्ने जुन काम भयो उक्त कदम विरुद्ध लड्न सम्पूर्ण तरुण युवाहरुलाई जस्तो सुकै आन्दोलनको लागी तयार रहन आग्रह गर्दै संघीय लोकतान्त्रिक, गणतन्त्र र संविधानको रक्षार्थ सम्पूर्ण लोकतन्त्रप्रेमिहरुलाई एकजुट भएर लड्न समेत तरुण दलले आग्रह गरेको छ ।








