हेटौंडा । निषेधाज्ञा उलङ्घन गर्ने १२ वटा पसल तथा व्यवसायलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले कारवाही गरेको छ । प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञाको उलङ्घन गरी पसल तथा व्यवसाय सञ्चालन गर्ने १२ वटा पसल तथा व्यवसायबाट ४२ हजार राजस्व संकलनसमेत गरेको छ ।
मंगलबार स्थलगत अनुगमनका क्रममा हेटौडा उपमहानगरपालिका क्षेत्रका उक्त पसललाई जरिवाना गराएको हो । कार्यालयले हेटौंडा उपमहानगरपालिका वडा नं. ४, ५, ६, ९, १६ र १७ मा अनुगमन गर्दै निषेधाज्ञा उल्लंघन गर्ने पसल तथा व्यवसायीहरुलाई कोभिड़–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा २१ को उपदफा १(क) बमोजिम कारवाही गरिएको हो ।
कार्यालयले ३ वटा खुवा पसल, २ वटा तरकारी तथा फलपुल पसल, एउटा किराना पसललाई ३/३ हजार, एउटा घडी तथा मोवाइल मर्मत पसललाई १ हजार, २ वटा घडी तथा मोवाइल मर्मत पसललाई ४/४ हजार, एउटा हार्डवेयर पसल, एउटा मनी ट्रान्सफर र एउटा कस्मेटीक पसललाई ५/५ हजार जरिवाना गरेको हो । कार्यालयले जिल्लामा कोरोना संक्रमण रोकथाम, नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको पालना गर्न आग्रहसमेत गरेको छ ।








