काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधानका लागि मापदण्ड बन्ने भएको छ । क्रियाशील सदस्यता छानबिन समितिले मापदण्ड बनाएर सदस्यता विवाद टुंग्याउन चाहेको छ । यसका लागि आज समितिको बैठक बस्दैछ ।
समितिका संयोजक रमेश लेखक कोरोना संक्रमणका कारण आइसोलेसनमा रहेपनि समितिको बैठक बस्न लागेको हो । समितिका सदस्यता आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा आज बस्ने बैठकले विवाद समाधान गर्न साझा मापदण्ड बनाउने बताइएको छ । यसैबीच, क्रियाशील सदस्यता वितरणको हालसम्मको अवस्था र मापदण्डबारे वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आन्तरिक छलफल गरेको छ ।
पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला लगायत सहभागी थिए । बैठकमा सदस्यता छानबिन समितिका सदस्यद्वय जीवन परियार र कल्याण गुरुङले समितिको कामबारे बिफ्रिङ गरेका थिए । क्रियाशील सदस्यता छानबिन समितिका सदस्य गुरुङले बैठकमा पछिल्लो पटक संशोधन गरिएको कार्यतालिका अनुसार महाधिवेशनको काम सक्ने विषयमा छलफल भएको बताए ।
‘महाधिवेशनका लागि महत्वपूर्ण क्रियाशील सदस्यताको काम छिट्टै सक्ने विषयमा छलफल भयो’, गुरुङले नेपाल प्रेससँग भने । पौडेल पक्षको आजको बैठकमा सदस्यता छानबिनको मापदण्डबारे छलफल भएको र शीर्ष नेताहरूको सुझाव लिइएको गुरुङले जानकारी दिए ।








