काठमाडौं । देशका विभिन्न भागबाट काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न गृह मन्त्रालयले परिपत्र गरेको छ । बाहिरी जिल्लाबाट मानिसहरु काठमाडौं भित्रिने क्रम बढेकोले कोरोनाको जोखिम बढेको भन्दै उपत्यकाका सबै स्थानीय तहलाई परिपत्र गर्दै गृह मन्त्रालयले नाका सिल गर्न भनेको छ । यसअघि जेठ १ गते गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले काठमाडौँ उपत्यकाका सबै स्थानीय तहबाट उपत्यका प्रवेशको आवागमनको स्रोत नै रोक्ने निर्णय गरेको थियो । बैठकमा काठमाडौँ हानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, लतिलपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, गृहसचिव, काठमाडौँ उपत्यकाका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, उपत्यका नाका भएका स्थानीय तहका प्रमुखहरूको उपस्थिति रहेको थियो । बैठकले काठमाडौँ उपत्यकामा प्रवेश गर्नेहरूको संख्या वृद्धी हुँदा जोखिम बढेको भन्दै अत्यावश्यक काममा बाहेक उपत्यका प्रवेश निषेध गर्ने, उपत्यका प्रवेश गर्नेले अनिवार्य रुपमा आरडिटी परीक्षणको रिपोर्ट बुझाउनुपर्ने लगायतका निर्णय गरेको थियो ।








